‘पहिले दिनमै ६–७ तोला बिक्री हुन्थ्यो, अहिले ४–५ दिनमा एक तोला पनि बेच्न मुस्किल’ : मिम रत्न बज्राचार्य

काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दै तोलाको २ लाख ८२ हजार ८ सय रुपैयाँ पुगेपछि सुनचाँदी व्यवसाय गम्भीर मन्दीमा परेको व्यवसायीहरूले बताएका छन्। महँगी, आर्थिक सुस्तता र बजारमा उपभोक्ताको क्रयशक्ति घट्दा दशकौं पुरानो व्यवसायसमेत संकटमा परेको उनीहरूको भनाइ छ।

बज्राचार्य गहना पसलका सञ्चालक मिम रत्न बज्राचार्यले सुनको मूल्यमा आएको परिवर्तन आफूलाई अझै पनि ‘सपना जस्तै’ लाग्ने बताउँछन्। “मैले पसल सम्हाल्न थालेको बेला सुनको मूल्य तोलाको ९ हजार ६ सय रुपैयाँ थियो। त्यसभन्दा अघि मैले थाहा पाउँदा त तोलाको ८ सय रुपैयाँ मात्र थियो,” उनले भने, “आज तोलाको २ लाख ८२ हजार ८ सय रुपैयाँ पुगेको छ। यस्तो होला भन्ने कल्पना पनि गरेका थिएनौं।”

उनका अनुसार मूल्यवृद्धिसँगै बजारमा कारोबार पनि उल्लेख्य रूपमा घटेको छ। “अहिले व्यापार ठप्पजस्तै छ। महँगी पनि छ, मन्दी पनि छ। जेठ–असार त सुनचाँदी व्यवसायका लागि अपसिजन नै हो,” उनले भने।

बज्राचार्य परिवारको सुनचाँदी व्यवसाय वि.सं. १९९० सालको भूकम्पअघिदेखि नै सञ्चालनमा रहेको उनले बताए। “यो व्यवसाय बाजे–बराजुको पालादेखि चल्दै आएको हो। म बुझ्ने भएपछि पसलमै हुर्किएँ, यहीँ काम गर्दै उमेर बित्यो,” उनले भने। आफूले औपचारिक शिक्षा हासिल गर्न नपाएको उल्लेख गर्दै उनले भने, “म व्यापारी भए पनि पढाइमा अगाडि बढ्न सकिनँ, विद्यालय जाने अवसर नै पाएनँ।”

उनका अनुसार पहिले ग्राहकलाई ग्रामका आधारमा सुन बिक्री गरिन्थ्यो र दैनिक ६–७ तोलासम्म कारोबार हुने गर्थ्यो। “अहिले अवस्था यस्तो छ कि ४–५ दिनमा एक तोला पनि बिक्री हुँदैन,” उनले भने।

सुनचाँदी व्यवसायमा नाफा धेरै हुने आमधारणा वास्तविकतासँग मेल नखाने उनको भनाइ छ। “हामीलाई तोलामा ३–४ प्रतिशत मात्र आम्दानी हुन्छ। बाहिरबाट हेर्दा धेरै नाफा भएको जस्तो देखिए पनि वास्तविकता त्यस्तो होइन,” उनले भने।

सुनका गरगहना बनाउने दक्ष जनशक्तिको अभाव पनि बढ्दै गएको बज्राचार्यको अनुभव छ। “अहिलेको पुस्तामा सुन बनाउने सीप सिक्नेहरू निकै कम छन्। तालिम दिने संस्था प्रशस्तै छन्, तर सिक्नेको संख्या घट्दो छ,” उनले भने। उनका अनुसार नेपालका धेरै सुनचाँदी उद्योगमा अहिले भारतीय र बंगलादेशी कालिगढले काम धानिरहेका छन्।

सरकारबाट व्यवसायमैत्री नीति आउने अपेक्षा रहेको बताउँदै उनले राजनीतिक परिवर्तनभन्दा नीतिगत स्थिरतालाई बढी महत्त्वपूर्ण ठाने। “राजनीति भन्दा पनि सरकारले कस्तो नीति ल्याउँछ र कसरी कार्यान्वयन गर्छ भन्ने कुराले नै व्यापार–व्यवसायमा प्रत्यक्ष असर पार्छ,” उनले भने।