काभ्रे । जन्मदिनलाई तामझाम र औपचारिकतामा सीमित नगरी सामाजिक सेवासँग जोड्दै सामाजिक व्यक्तित्व एवं रोशी गाउँपालिकाका प्रथम अध्यक्ष डिबी मोक्तानले धुलिखेल नगरपालिका–५ स्थित ‘परिवर्तनका लागि हामी’ संस्थामा आश्रित बालबालिकासँग जन्मदिन मनाएका छन्।
जन्मदिनको अवसरमा मोक्तानले संस्थामा रहेका बालबालिकाका लागि स्टेसनरी सामग्री, खाद्यान्न तथा अन्य आवश्यक सामग्री सहयोग गरेका छन्। उनले बालबालिकाको दैनिक आवश्यकताका लागि केही आर्थिक सहयोगसमेत उपलब्ध गराए।
बालबालिकासँग समय बिताउँदै जन्मदिन मनाएका मोक्तानले व्यक्तिगत खुसीलाई सामाजिक जिम्मेवारीसँग जोड्न सके त्यसको अर्थ अझ फराकिलो हुने बताए। आर्थिक तथा पारिवारिक कठिनाइका कारण संरक्षण र सहयोगको आवश्यकता रहेका बालबालिकासँग जन्मदिन मनाउँदा आफूलाई थप आत्मीय अनुभूति भएको उनको भनाइ थियो।
संस्थामा आयोजित कार्यक्रममा बालबालिकाले मोक्तानसँग जन्मदिनको खुसी साटेका थिए। केक काट्ने र शुभकामना आदानप्रदानसँगै उनले बालबालिकाका आवश्यकता र उनीहरूको शिक्षाबारे समेत जानकारी लिएका थिए।
संस्थाका अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य र दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले प्राप्त सामग्री उपयोगी हुनेछ। संस्थामा रहेका बालबालिकालाई नियमित सहयोग र संरक्षण आवश्यक रहेकाले यस्ता सामाजिक अभियानले उनीहरूको आत्मबल बढाउनसमेत मद्दत पुग्ने संस्थाका प्रतिनिधिहरूले बताएका छन्।









