काठमाडौं। २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल तामाङ कलाकार संघले दुःख व्यक्त गर्दै प्रभावित परिवारका लागि ९ लाख रुपैयाँ राहत रकम संकलन गरेको छ।
बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
महाविपत्तिमा परिवार तथा आफन्त गुमाएर पीडामा रहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले संघले संस्थागत रूपमा राहत अभियान सञ्चालन गरेको थियो। अभियानअन्तर्गत संघका पदाधिकारी, सल्लाहकार, सदस्य, आजीवन सदस्य तथा अन्य सहयोगी दाताबाट ८ लाख ५० हजार रुपैयाँ संकलन भएको संघले जनाएको छ।
यसैगरी, संघले संस्थागत रूपमा ५० हजार रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ। संघका अनुसार संस्थागत सहयोगसहित कुल ९ लाख रुपैयाँ संकलन भएको हो।
संकलित रकम संस्थाको निर्णयअनुसार बाढीबाट प्रभावित कलाकारका परिवार तथा अति प्रभावित परिवारलाई राहतस्वरूप हस्तान्तरण गरिने संघले जनाएको छ।
राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सल्लाहकार, सदस्य, आजीवन सदस्य तथा सहयोगी दातालाई संघले धन्यवाद व्यक्त गरेको छ। संघले राहत तथा सहयोग संकलन अभियानसमेत बन्द गरिएको जानकारी दिएको छ।









