ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनको सहकार्यमा ‘काठमाडौँ ट्रिएनाले’ हुने

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ फाउन्डेसनको सहकार्यमा ‘काठमाडौँ ट्रिएनाले’को नयाँ  संस्करण हुने भएको छ । बुधबार प्रतिष्ठानमा गरिएको कार्यक्रममा प्रतिष्ठान र फाउन्डेसनबिच सञ्चालनसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा प्रतिष्ठानबाट सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ र फाउन्डेसनको तर्फबाट निर्देशक संगीता थापाले हस्ताक्षर गरे ।
कलाको विस्तार र विकासका साथै नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरूबिच कलासम्बन्धी विचारको आदान–प्रदान गर्ने उद्देश्यले सिद्धार्थ फाउन्डेसनले कला महोत्सवका रूपमा ‘काठमाडौँ ट्रिएनाले’ गर्दै आएको छ । ‘काठमाडौँ ट्रिएनाले २०८२’ को संस्करणका लागि भने प्रतिष्ठानसग सहकार्य गरिएको हो । अन्य विभिन्न संस्करणहरू संयुक्त रूपमा आयोजना गर्ने सम्बन्धमा प्रज्ञा–प्रतिष्ठान र फाउन्डेसनबिच यस समझदारी–पत्रमा हस्ताक्षर गरिएको छ । प्रतिष्ठानका कुलपति नारमदणि हार्तम्छालीले नेपाली कलाका क्षेत्रमा ऐतिहासिक रूपमा काम गर्न पनि आफूहरूले यस कार्यक्रममा सहकार्य गरेको बताए । ‘प्रतिष्ठानसँग सहकार्य गर्न उहाँहरूले हार्दिक सद्भाव लिएर उहाँहरूले उत्सुकता जनाउनुभयो । हामीलाई पनि यो आवश्यकता थियो’, उनले भने,‘राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि हाम्रो पहिचान, पहुँच र पहलका लागि हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।’ फाउन्डेसनका निर्देशक संगीता थापाले ‘काठमाडौँ ट्रिएनाले’ प्रतिष्ठानसँग मिलेर काम गर्न पाउँदा एकदमै खुसी लागेको बताइन् ।
समझदारी पत्रमा उल्लेख गरिएअनुसार ट्रिएनालेको प्रत्येक संस्करणमा नेपाली कलाको इतिहास र अग्रज नेपाली कलाकारहरूको योगदान झल्किने विशेष प्रदर्शनीको आयोजना गरिने छ । नेपालका विभिन्न कला क्याम्पस एवं कला संस्थाहरूसँगको सहयोग, समन्वय र साझेदारीमा विद्यार्थी ट्रिएनालेको समेत आयोजना गरिने छ । त्यस्तै काठमाडौँ ट्रिएनालेको मुख्य कार्यक्रम काठमाडौँमा गरिने छ र काठमाडौँबाहिर (नेपालभर)का अन्य स्थानमा स्याटेलाइट इभेन्टका रूपमा कार्यक्रम सञ्चालन गरिने छ । विभिन्न सङ्घ–संस्था र निकायहरूसँग समन्वय गरी कार्यक्रममा ललितकलाबाहेक अन्य विधाका कार्यक्रमहरूलाई पनि समावेश गर्न पहल गरिने छ ।

SHARE