‘तामाकोशी सललला’मार्फत दोलखा–जिरीको पर्यटन प्रवर्द्धन

काठमाडौं । दोलखा र जिरी क्षेत्रको प्राकृतिक सौन्दर्य, कला–संस्कृति तथा जनजीवनलाई संगीतमार्फत उजागर गर्ने उद्देश्यले निर्माण गरिएको ‘तामाकोशी सललला’ गीत सार्वजनिक गरिएको छ ।

‘तामाकोशी सललला’ बोलको गीत जिरी र दोलखावासीलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ । गीतमार्फत दोलखाको कला, संस्कृति, जीवनशैली र मनोरम प्राकृतिक दृश्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयास गरिएको छ ।

म्युजिक भिडियोमा जिरी विमानस्थल, कालिञ्चोक, कुरि, तामाकोशी, खरीढुंगा, खावा डाँडा, रामबोले मन्दिर, चर्दुङलगायतका पर्यटकीय क्षेत्रलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । यसले दोलखा–जिरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

गीतका शब्द बिबि फुँयालले लेखेका हुन् भने स्वर तथा संगीत संयोजन गायक तथा संगीतकार कल्याण सिंहको रहेको छ । महिला स्वरमा सुनिता थेगिमले साथ दिएकी छन् । संगीत उत्पादन, मिक्सिङ तथा मास्टरिङ ‘जान्रिक्स’ले गरेका हुन् ।

भिडियोमा कलाकार सोल गुरुङ र बद्रीप्रसाद तिवारीको अभिनय रहेको छ । भिडियो निर्देशन अभिषेक सुबेदीले गरेका हुन् भने छायांकन चिन्तन राजभण्डारीले गरेका छन् । सम्पादन तथा कलर संयोजन सफल केसी (ह्याप्पी पिल्स)ले गरेका छन् ।

बिबि डिजिटल प्रस्तुतिमा तयार भएको भिडियो ‘अ मिडिया पोर्ट प्रोडक्सन’को निर्माण हो । कार्यकारी निर्माता बिबि फुँयाल र निर्माता प्रविण टक्की कार्की रहेका छन् ।

https://youtu.be/ToelVsz1toY?si=Iv49t7c9eiyuILJu