काठमाडौं । तामाङ समुदायको संस्कार र संस्कृतिमा एकरूपता ल्याउने उद्देश्यले तयार पारिएको ‘तामाङ संस्कार–संस्कृति निर्देशिका’ संशोधन गरी ह्युलठिम (विधान) कै रूपमा अघि बढाउन सहभागीले सुझाव दिएका छन्।
अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) को आयोजनामा शनिबार काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा आयोजित एकदिने गोष्ठीमा सहभागीले निर्देशिकालाई थप परिमार्जन गरी समुदायको साझा विधानका रूपमा विकास गर्नुपर्ने धारणा राखेका हुन्।
तामाङ समुदायमा धर्म, जन्मदेखि मृत्युसम्मका संस्कार तथा परम्परागत प्रचलनबारे स्पष्ट नीति आवश्यक रहेको उनीहरूको भनाइ थियो। गोष्ठीमा मानवशास्त्री डा. मुक्तसिं लामाले यससम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै तामाङ संस्कारमा धर्म परिवर्तन र विगतमा शासकहरूले गरेको दबाबको प्रभाव देखिन थालेको बताए। समुदायको मौलिक संस्कार र प्रथा नयाँ पुस्तामा हस्तान्तरण गर्न निर्देशिका आवश्यक रहेको उनको भनाइ थियो।
‘संस्कार’ नेपाली शब्द भएकाले यसको सट्टा तामाङ भाषाकै शब्द ‘ह्युलठिम’ अर्थात् विधान तयार गर्न सकिने उनले बताए।
तामाङ समाज टेक्सासका अध्यक्ष कुमार योञ्जनले तामाङ समुदायको सामूहिक हितका लागि प्रवासमा रहेका संस्थाहरूले आवश्यक सबै भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताए। तामाङ संस्कार, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि गोष्ठी महत्त्वपूर्ण उपलब्धि बन्ने उनको विश्वास थियो।
गोष्ठीको व्यवस्थापन गरेको नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङले निर्देशिकालाई सर्वमान्य बनाई देश तथा विदेशमा कार्यान्वयनमा लैजान घेदुङ तयार रहेको बताए।
गोष्ठीमा संस्कृतिविद्, ताम्बा, गान्बा, अभियन्ता, सञ्चारकर्मी तथा विभिन्न देशका प्रतिनिधिले निर्देशिकामा समेटिएका विषय र तामाङ संस्कारमा गर्नुपर्ने संशोधनबारे सुझाव दिएका थिए।
प्राप्त सुझावमाथि थप अध्ययन र अनुसन्धान गरी डा. संग्रामसिंह लामाको नेतृत्वमा रहेको विज्ञ समितिले निर्देशिकालाई अन्तिम रूप दिने आइटिसीका महासचिव टासी लामाले बताए। उनका अनुसार तामाङ समुदायको बसोबास रहेका विभिन्न देशमा थप छलफल र परामर्श गरी छ महिनाभित्र निर्देशिकाको मस्यौदा तयार पारिनेछ।
भारत, बर्मा, सिक्किम र भुटानलगायतका क्षेत्रमा छलफल गरी राय संकलन गरिनेछ। नेपालमा पनि तामाङ समुदायको बाक्लो बसोबास रहेका क्षेत्रमा अनुसन्धान गरी प्राप्त सुझावका आधारमा प्रस्तावनालाई थप समृद्ध बनाइने लामाले बताए।
निर्देशिकाको अन्तिम रूप आइटिसीको छैटौँ सम्मेलनमा प्रस्तुत गरी पारित गर्ने तयारी रहेको आयोजकले जनाएको छ। महासचिव लामाका अनुसार सम्मेलन एक वर्षभित्र आयोजना गर्ने तयारी छ।
निर्देशिकामा तामाङ समुदायका परम्परा र संस्कारलाई जन्म, कर्म र मृत्यु संस्कारअन्तर्गत वर्गीकरण गरिएको छ। यसमा गर्भको रक्षा, न्वारान, कर्म संस्कार, विवाह र मृत्यु संस्कारका साथै तामाङ समुदायको पहिचान, भेषभूषा तथा सांस्कृतिक मापदण्डसम्बन्धी विषय समेटिएका छन्।









